धादिङ : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो कार्यकाल अवधिमा भ्रष्टाचारमुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला धादिङ आएका पाण्डेले सरकारमा भएका र स्थानीयतहमा हुने गरेका भ्रष्टाचार निर्मुल गरिछोड्ने बताएका हुन् । ‘मन्त्रालय र स्थानीयतहमा जनप्रतिनिधी र कर्मचारीबाट भ्रष्टाचार भयो भन्ने सुन्न पाउनुहुन्न, यदि यसअघि भएका रहेछन् भनेपनि खोजीखोजी बाहिर ल्याएर देखाउछु’ उनले भने ।
मुख्यमन्त्री नियुक्त भएका पाण्डेले बागमती प्रदेशलाई अरु प्रदेशले पनि अनुशरण गर्नेगरी काम गरेर देखाउने प्रष्ट पारे । जनताको आवश्यकता पुरा गर्न सबैभन्दा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल जनताले महशुस गर्न पाउने योजनाहरु ल्याउने उनले बताए । मुख्यमन्त्री पाण्डेले भने ‘तीन महिनाभित्र रिजल्ट हेर्न पाउने खालको योजना तथा कार्यक्रमहरुमा मात्रै पैसा खर्च गरिनेछ ।’
एसईई पास गरेका दलित, लोपउन्मुख र अल्पसंख्यक १ सय १९ जना विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा पढाएर प्राविधिक जनशक्ति निर्माण गरी पालिकाहरुमा नै रोजगारी उपलब्ध गराउने पहिलो निर्णय भएको पनि उनले बताए ।
कात्तिक २२ गते विश्वासको मत लिएर मन्त्रीमण्डल विस्तार गरिने मख्यमन्त्री पाण्डेले जानकारी दिए । अहिले भएका मन्त्रालयबाट केही मन्त्रालय बढ्न सक्ने पनि उनको भनाई छ । मुख्यमन्त्री पाण्डेलाई शनिबार धादिङका नागरिक समाजसहित विभिन्न निकायहरुले सम्मान गरेको छ ।