काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेसहित ४ प्रदेश सांसदले आज दिउँसो मन्त्रीको शपथ लिँदै छन्।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिँदा एकीकृत समाजवादीकै कृष्ण खनाल, एकीकृत माओवादीका कुमारी मोक्तान र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले मन्त्रीको शपथ लिने भएका हुन्।
मन्त्रालय भने टुंगो लागिसकेको छैन । बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद बसन्त मानन्धरले जानकारी दिए। जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य छन्।