Fri. Nov 29th, 2024

मुख्यमन्त्रीबाट राजिनामा दिंदै शाक्यले भनिन्-‘प्रदेश बनाउन हामी नमिली सुखै छैन’

हेटौंडा– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार राजिनामा दिएकी हुन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।

‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।

सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताइन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।

बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

About The Author

अन्य समाचारहरु: