Thu. Nov 28th, 2024

पहिलोपल्ट १२ वर्ष माथिकालाई लगाउन मिल्ने एक लाख फाइजर खोप आइपुग्यो

काठमाडौँ : नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ।

अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० डोज ‘फाइजर’ खोप सोमबार बिहान आइपुगेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए।

यसअघि नेपालमा विभिन्न चरणमा खोपहरू आए पनि बालबालिकाले लगाउन मिल्ने खोप आएको थिएन। तर फाइजरको यो खोप भने १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्नेछ।


प्रमुख दाहालले यो खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई लगाउने निर्णय भएको जनाए। उनले यो खोप देशभरका २४ वटा अस्पतालबाट लगाइने समेत जानकारी दिए। जसमा ९ वटा उपत्यकाभित्रका अस्पताल छन्। दाहालका अनुसार यो खोप कात्तिक २८ गतेबाट लगाउन सुरू गरिनेछ।

अमेरिकाले यसअघि पनि एक डोज लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ को १५ लाख डोज खोप अनुदानमा दिएको थियो।

खोप शाखाका अनुसार हालसम्म नेपालमा ६५ लाख बढी मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन्। यो कुल जनसंख्याको २२ प्रतिशत हो।

About The Author

अन्य समाचारहरु: