धादिङ– नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका र रुविभ्याली गाउँपालिकाको निर्वाचन स्थगित भएको छ ।
कांग्रेस दुई पक्षबीच विवाद चुलिएपछि निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो । नीलकण्ठ नगरपालिकाको शनिबार साँझ मतदान सुरु भइसकेपछि दुई पक्षबीच विवाद बढेपछि स्थगित गरिएको बताइएको छ ।
निर्वाचन आचारसंहिता मिच्दै मतदान गर्न थालेपछि जिल्ला स्तरका नेताहरुले नै निर्वाचन स्थगित गराएको हो । केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् ।
नीलकण्ठ नगरपालिकामा दिलमान पाख्रिन पक्षबाट शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् । रुविभ्यालीमा जातीय भोट काटिने त्रासले दुबै पक्ष धुर्मुरमा छन् ।
नेत्रावती गाउँपालिकामा भने मतदान प्रकृया सुरु भइरहेको छ ।