Fri. Nov 29th, 2024

राप्रपा धादिङको अधिवेशन: अध्यक्षमा सहमतिको प्रयास जारी

धादिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अध्यक्षको लागि आजपनि सहमतिको प्रयास जारी छ । हिजो (विहिबार) नै मिले सहमतिमा टुङ्गो लगाउने नमिले मतदान गर्ने भनिएपनि कुनैपनि उम्मेदवार लचिलो नभैदिँदा थप समय लम्बिएको छ ।

जिल्ला अध्यक्षका लागि धु्रव प्रसाद खनाल, नवराज श्रेष्ठ, बुद्धि बहादुर तामाङ र शान्त बहादुर तामाङले उम्मेदवारी दिएका छन् । आज पनि टुङ्गोमा पुग्ने छाट नदेखिएको नेताहरुले प्रतिकृया दिएका छन् ।

उम्मेदवार श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् । प्रत्यासी उम्मेदवार खनाल जिल्लामा सक्रिय मानिएका नेता हुन् । श्रेष्ठ र नेता खनाल मुख्य आकांक्षीको रुपमा देखिएका छन् । बुद्धि र शन्त पनि कमजोर प्रत्यासी भने होइनन् । उनीहरुले आ–आफ्नो एजेण्डासहित पर्चा पम्प्लेट छापेर प्रचार गरिरहेका छन् ।

केन्द्रमा देखिएको कमल थापा समूह र पशुपति समसेर राणा समूहको गुटको प्रभाव जिल्ला नेतृत्वमा पनि परेको छ । धादिङमा थापा समूहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ छन् भने राणा समूहमा पूर्व जलश्रोत राज्य मन्त्री ठाकुर शर्मा प्रत्यक्ष देखिएका छन् ।
जिल्ला अध्यक्षका उम्मेदवार श्रेष्ठ ‘बुद्धिमान’ समूहका हुन् भने खनाल ‘ठाकुर’ समूहका हुन् । बुद्धि बहादुर र सान्त बहादुर भने कुनै समूहमा पनि खुलेर लागेको देखिदैन ।
यो जिल्ला अधिवेशनबाट करिव १ सय ८५ जनाले जिल्ला अध्यक्षका लागि मतदान गर्नेछन् । जिल्ला कार्यसमितिमा अध्यक्षसहित ४१ जना निर्वाचित हुने राप्रपा धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: