धादिङ– सदरमुकाम धादिङबेसीमा संचालित जनजिविका गेष्ट हाउस एण्ड रेष्टुरेण्टले दुई तारेको मान्यता पाएको छ । होटल, लज, रेष्टुराँ, तथा रिसोर्ट, वार तथा पथ प्रदर्शक नियमावली २०३८ अनुसार यो होटलले दुई तारा स्तरको मान्यता पाएको हो ।
‘सुरुका दिनमा १० रुपैयाँमा भात बेचर ब्यवसाय सुरु गरेको हुँ, २०५२ सालेदेखि २०६१ सालसम्म भात मात्रै बेचेर परिवार पालेर बस्नु पर्यो’ होटल संचालक राजाराम सिलवाल भन्छन्,’अहिले त्यही होटललाई २ तारा मान्यता दिलाउन सफल भए ।’
२०६१ सालमा केही साथीहरु सल्लाहमा तालिम हल, गेष्ट रुम र खानाका परिकारमा समेत थप गरी जनजिवका गेष्ट हाउस एण्ड रेष्टुरेन्टको नामबाट होटल सञ्चालन गरेका थिए । २०७१ सालमा सिलवालले आफ्नै २६ कोठे घर निमार्ण सम्पन्न गरी होटल सारे । आफ्नो घरमा सरेपछि जिल्लाकै राम्रो र महँगो होटलमा गनियो जनजिविका गेष्ट हाउस एण्ड रेष्टुरेण्ट ।
अहिले ३२ वटा रुम, दुई वटा तालिम हल, पार्किङ सहित रेष्टुरेण्ट सञ्चालनमा छ । जिल्लाकै नमूना र ठुलो होटल बनाएपछि सिलवालले गेष्ट हाउस एण्ड रेष्टुरेण्टलाई प्राइभेट लिमिटेडमा दर्ता गराए । होटल जनजिविका प्रालिमा रुपान्तरण गरेका छन् ।
पर्यटन विभागले पर्यटन ऐन २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिसोर्ट, वार तथा पथ प्रदर्शक नियमावली २०३८ मा भएको व्यवस्था भए अनुसार दुई तारा स्तरको होटलमा स्तर वर्गीकरण गदिएको छ । पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले इजाजत पत्र कम्पनीका सञ्चालक राजाराम सिलवालाई प्रदान गरेका छन् ।
होटल जनजिविका प्रालिले दुई ताराको मान्यता पाएसंगै यो नै धादिङ जिल्लाको लागि पहिलो तारे होटल भएको छ । जिल्ला सरमुकाम धादिङबेसीमा सञ्चालित होटलको लगानी २५ करोड रहेको छ । एक रोजनी क्षेत्रफलमा ३ वटा भवन रहेको छ । दुईवटा भवनमा लिफ्ट जडान गरिएको छ ।
नीजि तथा सरकारी भवनमा लिफ्ट जडान गरिएको पनि यो जिल्लामै पहिलो हो । यस होलटमा स्वदेशी तथा विदेशीहरुको आकर्षण हुनुमा होटलको खाना नै प्रमुख कारण रहेको छ । होटलमा १० जनाले रोजगारी दिएका छन् । होटलको आफ्नै गाडी सुविधा सहित छ ।