काठमाडौं- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ७ मन्त्री र ४ राज्यमन्त्री थपेकी छन्।
भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन्। उनले भदौ २ मा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री अजय क्रान्ति शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्र लामा नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। यस्तै, जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी र जुनेली श्रेष्ठले राज्यमन्त्रीको शपथ लिएका छन्।