Fri. Nov 29th, 2024

धादिङमा दुई प्रमुखसहित ८५ जनाले रोजे नेकपा (एस)

धादिङ– धादिङमा नेकपा (एमाले)बाट निर्वाचित ८५ जना जनप्रतिनिधिले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु जिल्ला निर्वाचन कार्यालय धादिङमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले छाडेर नेकपा (एस) रोज्नेहरुमा धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका ५५ जना वडा अध्यक्ष मध्य १४ जना वडा अध्यक्षले पनि नेकपा (एस)मा सनाखत गरेका छन् । त्यस्तै कार्यपालिका सदस्य र वडा सदस्य गरी ६७ जनाले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एस)मा हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले एमाले र नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरिएको र सोही बमोजिम आयोगले नयाँ दल रोज्ने समय तोकेको हो ।

२०७४ को स्थानीय निर्वाचनमा धादिङमा नेकपा एमालेबाट ३ सय १६ जना विभिन्न पदमा निर्वाचित भएका थिए । धादिङको १३ वटा स्थानीय तह मध्य ८ वटामा प्रमुख, ७ वटामा उपप्रमुख एमालेले जितेको थियो । वडा अध्यक्ष ५५ जना, महिला वडा सदस्य ५८ जना, सदस्य दलित महिला ५८ जना, अन्य वडा सदस्य १ सय १५ जना र दलित वा अल्पसंख्यक सदस्य १५ जना निर्वाचित भएका थिए ।

About The Author

अन्य समाचारहरु: