
धादिङ –
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लिन सकेको छैन।
दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएकोमा रंगशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०-३५ जनाले मात्रै काम गर्दै आएका छन्। त्यो जनशक्ति पनि नियमित छैन।
धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो।
फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए। सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए।
रंगशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए।
उनले भने, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन।
उनका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन। सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।
अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रंगशालाको धेरै काम गर्न सकेको बताउछन्।
गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनी आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउछन्।
रकम जुटेमा आउँदो एक वर्षमा रंगशाला सम्पन्न हुने उनको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउँछन्।