काठमाडौ –
नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरू समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको हो ।
मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले २०७५ जेठ २ अघिकै संरचनाबाट पदाधिकारी, सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई क्रियाशील हुन निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिँदै १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै मंगलबारको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका संगठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरू पनि एमालेमै फर्किएका हुन् ।
मंगलबारको बैठकमा माधव नेपालको साथ छाड्नुभएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी हुनुभएको थियो ।
यस्तै, माओवादी छाडेर एमाले प्रवेश गर्नुभएका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा जानुभएको थियो । बैठकले सबैलाई मूल पार्टीमै फर्कन आग्रह गरेको र पार्टीमा फर्कनेहरूलाई कुनै कारबाही नहुने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।