
अफगानिस्तानको राजधानी काबुलबाट ठूला कम्पनीमा कार्यरत नेपाली कामदारको उद्धार भए पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपाली भने दलाल क्याम्पमै अल्झिएका छन् । उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
‘हामी अहिलेसम्म दलाल क्याम्पमै छौं । पहिलाभन्दा गाह्रो छ । बाहिरको स्थिति पनि ठीक छैन । जतिसक्दो छिटो उद्धार भए हुन्थ्यो,’ काबुलको एक भवनमा बस्दै आएका नेपालीले कान्तिपुरसँग भने, ‘हामी यहाँबाट छिटो निस्कन चाहन्छौं ।’ उनीसँगै ४० जना नेपालीको समूह छ । उनीहरू ६ देखि १६ महिना अगाडि काबुल पुगेका हुन् । ‘यस्तो स्थिति आयो कि रोजगारी होइन जीवन जोगाएर स्वदेश फर्कन पनि कठिन भयो,’ उनले भने । सुरक्षाका डरले आफ्नो परिचय र काबुलसम्म पुर्याउने दलालबारे उनीहरूले बताउन भने चाहेनन् । ‘जति अलपत्र परेका छन् सबै एजेन्टबाट आएकाहरू छन्,’ १५ जनाको अर्को समूहमा रहेका एक नेपालीले भने, ‘अहिले काबुलमा अलपत्र नेपालीबीच सम्पर्क बढेको छ ।’ उद्धारका लागि उनीहरूले परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र काबुलमा तोकिएका सम्पर्क व्यक्तिसँग कुराकानी गरिरहेका छन् ।
‘विमानस्थलसम्म कसरी पुग्ने र उड्ने निकै ठूलो चुनौती छ,’ ती नेपालीले भने । काबुल छोड्न चाहने हजारौं अफगान नागरिकले विमानस्थलका ढोका घेरेका छन् । ‘हामी झन्डै ७२ घण्टाको संघर्षपछि विमानस्थल प्रवेश गर्न पायौं,’ दोलखाका सुमन मोक्तानले भने, ‘प्रवेशद्वारमा घम्साघम्सी चल्छ । अमेरिकी सेनाले भित्र छिर्न दिँदैन । भीड व्यवस्थापन गर्न नसकेपछि सेनाले हवाई फायर गरिरहन्छ ।’ एक सातायता विमानस्थलमा २० जनाको ज्यान गइसकको छ । विमानस्थल प्रवेश गरेको दुई दिनपछि मोक्तानले शनिबार बिहान काबुल छोड्न पाएका थिए । ‘८७ जना भारतीय नेपालीसँगै हामी दुई नेपालीको उद्धार भयो । टिकट पाउनासाथ काठमाडौं आउनेछौं,’ उनले भने । कान्तिपुर दैनिकले लखेको छ।