काठमाडौ- नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधानतर्फ पुर्याएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो। भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन्।
क्रियाशीलसम्बन्धी विवाद अब टुंगिएको केन्द्रीय सदस्य लेखकले बताए। आज अपरान्ह ५ बजे सभापति देउवालाई प्रतिवेदन बुझाने तयारी रहेको लेखकको भनाई छ ।
बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो। समग्रमा एक सय वडामा क्रियाशील सदस्यताका विवाद थिए। नेताहरूकै तवरबाट क्रियाशीलको विवाद टुंग्याइएकोले अब समस्या नदेखिने लेखक बताउँछन्।
कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्।