धादिङ : केपी ओलीकै कारण नेकपा एमाले विभाजन भएको प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् । ओली कम्युनिष्ट एकताको पक्षमा नरहेकोले नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको बताए ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ धादिङको प्रथम विस्तारित बैठकमा बोल्दै नेता पाण्डेले एमाले मात्रै हैन नेपाली कम्युनिष्ट पार्टी नै सिध्याउने लागेको बताए ।
यस्तै प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टीका नेता गुरु प्रसाद बुर्लाकोटीले केपी ओली प्रवृति विरुद्ध बनेको गठबन्धन चुनावमा समेत सँगै हुने बताए । अब तलदेखि माथिसम्म बन्ने संगठनात्मक संरचनामा नेतृत्व गर्न तयार रहन समेत नेता बुर्लाकोटीले सबैलाई निर्देशन दिए।
भेलाले रामकुमार श्रेष्ठको संयोजकत्वमा पिपुल्स भोलिन्टियरको चयन गरेको छ । जसको सहसंयोजकमा आईत तामाङ र सचिवमा निरु थिङ तामाङ चयन भएका छन् । त्यस्तै जिल्लाको नीलकण्ठ नगरपालिका बाहेक १२ वटा स्थानीय तहहरुमा युवा संघको संयोजक, सहसंयोजक र सचिव मनोनित गरेको छ ।