Thu. Nov 28th, 2024

कोरोना तेस्राे लहरमा बालबालिकालाई उच्च जोखिम

काठमाडौं – कोरोनाको तेस्रो लहरमा बालबालिकाहरु बढी जोखिममा पर्ने विज्ञहरुले बताएका छन् । कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा बालबालिकाहरु नपरेकाले तेस्रो लहरको जोखिममा पर्न सक्ने विश्लेषण गर्न थालेका छन्।

नेपालमा हाल दैनिक तीन हजारको आसपासमा कोरोना संक्रमित भेटिने गरेका छन्। जसमध्ये करिब दुई सय जना २० वर्ष मुनिका संक्रमित हुने गरेका छन्। 

तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। 

यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्। 

कान्ति बाल अस्पतालको ओपिडीमा मात्र हाल दैनिक करिब डेढ सयदेखि २ सय बालबालिका उपचारका लागि आउने गर्छन्। जसमध्ये ५० देखि ६० प्रतिशत बालबालिकाहरु श्वासप्रश्वास सम्बन्धी समस्या भएका हुन्छन्। तर उनीहरु सबैको कोभिड परीक्षण भने गर्न नसकिएको कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउछिन् ।

अस्पतालमा भर्ना हुने बालबालिकाको मात्र कोभिड परीक्षण हुने गरेको छ। डा अग्रवालका अनुसार अस्पताल भर्ना हुने ९० प्रतिशत बालबालिकाको मात्र पिसिआर परीक्षण हुने गरेको छ। जसमध्ये १० प्रतिशत बालबालिकामा कोभिड पोजेटिभ आउने गरेको छ। 

बालबालिकाहरु कोरोनाको जोखिममा भएपनि कोरोनाले मात्र धेरै असर नगरेको बताउँदै उनले भने, ‘खोपको आधारमा हेर्ने हो भने बालबालिका कोरोनाको जोखिममा छन्। तर कसैलाई कुनै दीर्घ रोग नभएको खण्डमा कोरोनाले मात्र बच्चालाई त्यति हानी गरेको छैन।’

कान्ति बाल अस्पतालले हालसम्म पोस्ट कोभिड सिन्ड्रोमको समस्या भएका ७० जना बालबालिकाको उपचार गरिसकेको छ। 

सरकारले बालबालिका र किशोर किशोरीलाई खोप लगाउने पूर्व तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सिफारिस गर्ने खोपको पर्खाइमा छ। 

About The Author

अन्य समाचारहरु: