Thu. Nov 28th, 2024

शेयरमा आम्दानी बढ्दा नाफा वृद्धि

काठमाडौ –

कोभिड महामारीले अर्थतन्त्र धराशायी भइरहेको अवस्थामा पनि गत आर्थिक वर्षमा बैंकहरूको नाफा २० प्रतिशत बढेको छ ।

यो अवधिमा बैंकको प्राथमिक आयको स्रोत ब्याज आम्दानी धेरै रहेकाले नाफा बढेको भने होइन । सेयर बजारबाट राम्रो कमाइ भएको र अघिल्लो वर्षभन्दा कम मात्र नोक्सानी व्यवस्था गर्नुपरेकाले नाफा वृद्धिदर राम्रो देखिएको हो ।

कोभिडका कारण धेरै कर्जा असुली नभएपछि बैंकहरूको नोक्सानीबापतको व्यवस्था बढेको थियो । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले कर्जा मात्र नदिएर आफूले पनि लगानी गरेका छन् । बैंकहरूले बैंकिङ समूहबाहेक लघुवित्त, जलविद्युत्, बिमालगायतमा लगानी गर्न पाउँछन् । ती सेयर बिक्रीमार्फत कमाएको आयले बैंकहरूको नाफा वृद्धिमा सहयोग पुगेको हो ।

गत वर्ष बैंकहरूको अन्य सञ्चालन आम्दानी औसतमा ३ सय ९ प्रतिशत बढेको छ । यो शीर्षकमा प्राप्त आम्दानीमध्ये ९५ प्रतिशतभन्दा धेरै सेयर बिक्रीमार्फतको हो ।

गत आर्थिक वर्षमा बैंकको नाफा वृद्धिमा सेयर बिक्रीबाट प्राप्त आम्दानीको योगदान सबैभन्दा धेरै रहेको बैंकरहरू स्विकार्छन् । सेयर बजार निरन्तर बढिरहेकाले त्यसको सकारात्मक प्रभाव बैंकहरूको नाफामा परेको उनीहरूको भनाइ छ ।

गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकले ६३ अर्ब ३७ करोड रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६र७७ मा यी बैंकको वार्षिक नाफा ५२ अर्ब ८ करोड रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा त्यति बेला बैंकको नाफा करिब १२ प्रतिशत घटेको थियो । सेयर कारोबारबाट राम्रो आम्दानी भएकाले गत आर्थिक वर्षमा बैंकको मुनाफा राम्रो देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ ।

सेयर बजारबाट प्राप्त आय घटाउँदा बैंकहरूको सञ्चालन आम्दानीको वृद्धि अघिल्लो वर्षको भन्दा खुम्चिएको छ,’ उनले भने, ‘कोभिडका कारण गत वर्ष कर्जा नोक्सानीबापत धेरै रकम प्रोभिजनिङ गर्नुपरेको थियो । यो वर्ष त्यस्तो प्रोभिजनिङ पनि करिब ८ अर्ब रुपैयाँ घटेको छ ।’

समग्रमा सेयर कारोबारबाट राम्रो आम्दानी प्राप्त भएको र कर्जा नोक्सानीबापत कम छुट्याउनुपरेकाले गत आर्थिक वर्षमा बैंकहरूको नाफा सन्तोषजनक देखिएको उनले बताए । यद्यपि बैंकको कोर बिजनेस ब्याज आय को आयमा कमी आएको छ भने अन्य आम्दानी बढेको छ ।

यसकारण अहिले देखिएको बैंकको नाफा दिगो हुन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । गत वर्षमा मात्र बैंकहरूले सेयर बजारबाट करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ८ अर्ब रुपैयाँ बढी हो ।

About The Author

अन्य समाचारहरु: