
काठमाडौ –
नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक वानडे सिरिज आगामी भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ।
टाइम्स अफ ओमानका अनुसार ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसले सिरिजको मितिबारे जानकारी गराएका हुन्।
नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनीसँग दुई म्याचको वानडे सिरिज खेल्ने जनाएको छ। यद्यपी यसको मिति टुंगो भइसकेको छैन।
विश्वकप लिग–२ को पुरानो खेल तालिकाअनुसार नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज यो वर्ष मार्च १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो। तर कोभिड–१९ का कारण यो वर्ष फेब्रुअरीमा सिरिज स्थगित गरिएको थियो।