धादिङ– एसईई परीक्षामा धादिङबाट ५ सय ८७ जनाले ए प्लस जीपिए ल्याएर उत्तीर्ण भएका छन् । ११ सय ३ जनाले जिपीए ‘ए’ ल्याएर उत्तीर्ण भएका छन् ।
१९ सय ९१ जनाले ‘बी प्लस’ र १४ सय ९६ जनाले जीपिए ‘बी’ प्राप्त गरेका छन् । धादिङबाट परीक्षामा सहभागी भएका मध्य जीपिए ‘बी प्लस’ ग्रेड प्राप्त गर्नेको संख्या सबैभन्दा धेरै हो ।
त्यस्तै ३ सय १९ जनाले ‘सी प्लस’ र ८ जनाले ‘सी’ ग्रेड प्राप्त गरेका छन् । ‘डी प्लस’ ग्रेड ल्याउनेको संख्या धादिङमा एक जना मात्रै छ ।
शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अनुसार ५ हजार ५ सय ५ जनाको नतिजा सार्वजनिक भएको छ । २०७७ सालको एसईई परीक्षामा धादिङबाट १५६ वटा माध्यामिक विद्यालयका ५ हजार ५१४ जना विद्यार्थी एसईईमा सहभागि थिए ।
नियमिततर्फबाट ५ हजार २ सय ६२ जना, प्राविधिक तर्फबाट २ सय ३१ जना र ग्रेडवृद्धि तर्फबाट २१ जना सहभागी थिए । विद्यालयहरुको आन्तरिक मुल्यांकनलाई प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा शनिबार सार्वजनिक गरेको थियो ।
विद्यालयले आफूखुसी अंक दिएकैले यस वर्ष ४ जीपीए ल्याउनेको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले बताए । सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइएको छ ।