
धादिङ- चीन र भारतमा पुनः कोरोनाको संक्रमण बढेको छ । चीनले कोरोना संक्रमण बढेपछि राजधानी बेइजिङ्गलगायत अधिकांश ठूला शहरमा विशेष सतर्कता अपनाउने भएको छ । कोरोनाको डेल्टा भेरियण्ट देखिएपछि चीनमा सतर्कता अपनाउन लागिएको हो ।
डेढ वर्षअघि कोरोना महामारीको शुरुताका वुहानमा मात्र लगाइएको निषेधाज्ञा भोलिदेखि अन्यत्रसमेत जारी गर्न लागिएको छ । डेल्टा भेरियण्टको संक्रमणलाई ध्यानमा राखेर चीनका अधिकांश विद्यालय र विश्वविद्यालय भोलिदेखि बन्द गरिएको छ ।
चीनमा डेल्टा भेरियण्ट रुसको राजधानी मस्कोसँगको हवाई उडानबाट भित्रिएको आशंका गरिएको छ । मस्कोको उडानबाट आएका यात्रुले भाइरस ओसारेको र उक्त विमान सफा गर्ने नानचिङ्ग एअरपोर्टका कर्मचारी साराका सारा थला परेसङ्गै कोरोना संक्रमण चारतिर फैलिएको हो । चीनमा हालसम्म कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको निधन भइसकेको छ । ९३ हजारभन्दा बढी संक्रमित छन् । तर तीमध्ये अधिकांश अघिल्लो वर्षको महामारीका हुन् ।
यता भारतमा पनि कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो। बिहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ।
हालसम्म ३ करोड १८ लाखभन्दा बढी संक्रमित रहेको भारतमा ३ करोड १० लाख निको भएका छन् भने ४ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।