९ असार, इलाम – करदाता सेवा कार्यालय इलामले कर तिर्न अटेर गर्ने १९ जना व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
बारम्बार कर तिर्न लिखित तथा मौखिक पत्राचार गरे पनि अटेर गर्ने व्यवसायीलाई कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर झापामा पठाइएको कार्यालयले जनाएको छ । एक सय ५० व्यवसायीबाट एक करोड ५० लाखभन्दा बढी बक्यौता रहेको कार्यालयका प्रमुख अनमोल दाहालले बताए ।
तीमध्ये तीन लाखभन्दा माथि र १४ लाखभन्दामुनि कर तिर्न बाँकी रहेका १९ जना व्यवसायीको घरजग्गा बिक्री रोक्का, बैंक खाता रोक्का तथा कारोबार रोक्काका लागि आन्तरिक राजस्व कार्यालयमा पठाइएको हो ।
एक हजारदेखि तीन लाखसम्म बक्यौता भएका व्यवसायीलाई कार्यालयले बारम्बार पत्राचार, टेलिफोन सम्पर्कबाट समेत कर तिर्न आग्रह गरिरहेको प्रमुख दाहालले बताए । बक्यौता नबुझाउनेमा जिल्लाका ठेकेदार, व्यवसायी रहेका कार्यालयले जानकारी दिएको छ । त्यसैगरी कर विवरण बुझाउन बाँकी रहेका एक सय ५१ करदाताबाट तीन लाख ५० हजार कर असुल गरिएको सो कार्यालयले जनाएको छ । जिल्लामा पाँच हजार दुर्इ सय ९० करदाता प्यानमा दर्ता भएका छन् । तीमध्ये तीन सय ८१ जना भ्याटमा दर्ता भएका छन् । रासस