Tue. Mar 4th, 2025

आमा बन्दाको अनुभुती

राधिका सापकोटा

म काभ्रेमा जन्मे हुर्के । २०५९ सालमा म विवाह गरेर धादिङ आए । विवाहको एक हप्ता पछि नै बैरेनीमा रहेको द राईजिङ भिलेज बोर्डिङ स्कुलमा पढाउन थाले ।

नयाँ ठाउँ, चिसोमा हुर्केको मान्छे बैशाख जेठको बैरेनीको गर्मी, चिनेको कोही मान्छे छैन त्यसमाथि आफुलाई उतिसाह्रो मन नपर्ने पढाउने पेशा असाध्यै कष्टपुर्ण लागेको थियो मलाई शुरुका धादिङका दिनहरु । आफ्नो २२ वर्षको सामाजिक र राजनीतिक जीवन छोडेर आएको थिए, यहाँ मेरो लागि शुन्नाबाट शुरु गर्नुपर्ने थियो । संघर्ष गर्दै थिए ।

विवाहको करिब २ वर्ष पछि बच्चा पेटमा आयो । एक हिसाबले म खुसी नै थिए, अर्को अहिले नै बच्चा जन्माएर कसरी हुर्काउने बढाउने ? आफ्नो अवस्था अझै राम्रो बनाउन सकेको छैन भन्ने लागेको थियो तर पनि बच्चा जन्माउनु नै थियो ।

बच्चा गर्भमा आउँदा नी म स्कुल बढाउँदै थिए । मलाई असाध्यै भमिट हुन्थ्यो । खाना खानै नसक्ने । कक्षामा पढाउँदै गर्दा बाहिर आएर भमिट गुर्नुपर्ने । शुरुका दिनमा साह्रै अप्ठेरो लाग्यो, विशेष गरी केटा साथीहरुको अगाडी तर विस्तारै बानि हुने रहेछ ।

एकदिन त विद्यालयमा नै म ढलेछु, सरहरुले बोकेर सजिलो ठाउँमा राख्नु भएछ पछि विस्तारै होस आयो । आमा बनि सकेका साथीहरुले यस्तो हुन्छ , यो सामान्य हो भन्नु हुन्थ्यो । म सानो दुखाई पनि सहन नसक्ने भएकोले साथीहरु मिसले कसरी बच्चा जन्माउनु हुन्छ होला भन्नुहुन्थ्यो ।

त्यतिबेला भने धेरै पीडा हुन्छ की के हो भनेर अलि डर लाग्थ्यो । मैले बच्चा पेटमा भएको बेलमा राम्ररी खाना कहिलै खाईन, जबरजस्ती खाना खायो भने पनि भोमिट भै हाल्थ्यो । सामान्यतया अगाडीको ३ महिना भमिट भएपछि रोकिन्छ तर मलाई भने बच्चा पेटमा आएदेखि जन्मिनु भन्दा केही घण्टा अगाडी सम्म नै भमिट भई रह्यो ।

गर्भमा बच्चा ७ महिनाको हुँदा हामीले धादिङबेसी सर्ने निर्णय गर्यौ । यो निर्णयमा म खासै खुसी थिइन । मैले बल्ल बैरेनीमा केही मान्छे चिन्न थालेको थिए । त्यहाँ मेरो एउटा सर्कल बनेको थियो । बच्चा जन्मिने अन्तिम अवस्थामा नयाँ ठाउँ झन के गर्ने होला भन्ने चिन्ता एकदमै थियो ।

यहाँ भन्दा धादिङवेसीमा अवसर धेरै हुन्छ , पढाईलाई निरन्तरता दिन सकिन्छ भन्ने कुराले मात्रै धादिङवेसी आए । सरस्वती छापाखाना भएको कार्की दाईको घरमा केशव जी (केशव अधिकारी) बस्नुहुदो रहेछ त्यही घरको तल्लो तलामा हाम्रो लागि कोठा भनिदिनु भएको रहेछ ।

हामी आएर त्यही बस्यौं । सीताराम जी र केशव जी बाहेक अरु कोही चिन्दीन थे म यहाँ । कहिले काँही नवराज जी, राजेन्द्र प्रताप दाईहरु कोठामा आउनु हुन्थ्यो । नत्र एक्लै कोठामा २४ सै घण्टा सुतेर विताउँथे म । ९ महिना लागेपछि मलाई गाह्रो भयो ।

त्यतिवेला जिल्ला अस्पतालमा केही सुविधा थिएन त्यसैले दिदिहरु डराएर काभ्रे नै आएर बच्चा जन्माउ भनेर भनीरहनु हुन्थ्यो । बाटो जहिले जाम हुने हुँदा यहाँ बेथा लागेर काठमाण्डौ जाँदा मान्छे मर्ने अवस्थामा हुन्थ्यो । लडाईमा हिडेको सिपाई र बच्चा जन्माउन तयार महिला उस्तै लाग्थ्यो मलाई कतिवेला के हुन्छ केही थाहा नहुने । त्यसैले म काभ्रे गए । करिब १ महिना जति म बनेपा दिदिहरुसंगै बसे । समय समय गाह्रो हुन्थ्यो अस्पताल गयो घर आयो गरीरहे ।

साउन१२ गते भने दिनभर साह्रो गाह्रो भयो । पेट बेस्सरी दुख्यो । अस्पताल गएपछि भर्ना हुनु पर्छ भन्नु भयो । १२ गते रातभरी पेट दुख्यो तर १३ गते विहान देखि भने अलि कम भएजस्तो भयो । तर दुखाई कम हुनु राम्रो भने हैन रेछ । १३ गते रातीबाट भने सहनै नसक्ने गरी दुख्यो । म बेस्सरी रुन्थे अनि नर्सहरु आएर यति दुखाईले कहाँ बच्चा जन्मिन्छ भन्थे ।

मलाई अचम्म लाग्थ्यो अझै कति दुख्छ होला ? यो भन्दा नी बढि दुख्दा नी कसरी बाचिन्छ होला र ? विहान ६बजे पछि मलाई सुत्केरी गराउने कोठामा लगियो । बाहिर हुँदा सम्म त कम्तिमा दिदिहरु हुनुहुन्थ्यो तर भित्र एक्लै राख्ने रहेछ । कसैलाई बस्न नदिने , समय समयमा नर्सहरु, डक्टरहरु आउथे । रुदा रुदै गला सुकेर म रुनै नसक्ने भैसकेको थिए ।

बच्चाको मुटुको धटकन हेरिरहेका थिए । खै के भयो एक्कासी डक्टर र नर्सहरुको भिड भयो । बच्चाको मुटुको धटकन कम भयो , बच्चा मर्न सक्छ अप्रेसन गर्नुपर्छ तयारी गरौं भन्न थाल्नु भयो । मेरै अगाडी सबै कुरा हुँदा म झन डराए । जे जस्तो भएपनि मेरो पेटबाट बच्चा निकालिदिए हुन्थ्यो भन्ने लाग्यो ।

मलाई निरन्तर हेरीरहने डक्टरले पहिलो बच्चा हो एकपटक हेरौ अप्रेसन सकेसम्म नगरौं भन्नु भयो । बच्चा जन्माउनका लागि कोसिस गरियो । म शब्दमा भन्नै सक्दिन की त्यो कस्तो पीडा थियो र कति थियो भनेर । अन्तिममा त म अचेत जस्तै भएको थिए । बच्चा रोएको आवाज आयो । शरिरलाई आराम मिले जस्तो लाग्यो ।

मलाई गर्भमा के छ थाहा थिएन तर असाध्यै गाह्रो भएकोले मैले सोधिन पनि जे भएपनि राम्रो जन्मियोस भन्ने लाग्यो । बच्चालाई मेरो छातीमा ल्याएर राखिदिदा पनि मैले बच्चा हेर्न सकिन । नर्सहरुले कस्तो गुडियाको जस्तो आँखा भनेको सुने, बच्चा स्वस्थ छ भन्ने कुरा भई रहेको थियो । आँखा नहेरे पनि कान चाही सुनीरहेको थिए । बच्चा बाहिर दिदिहरुलाई दिइसकेको रहेछ । मलाई बेडमा ल्याउने बेलामा मात्रै एकजना नर्सले के जन्मियो थाहा पाउनु भयो भनेर सोध्नुभयो । मैले थाहा छैन भनेर टाउको हल्लाए ।

उहाँले फेरी के भैदिए हुन्थ्यो जस्तो लागेको छ ? भनेर सोध्नु भयो मैले जे भएपनि केही छैन भने । बल्ला उहाँले छोरी भएको छ भन्नु भयो ।बेडमा आएपछि दिदि भिनाजुहरुलाई देख्दा आँसु थाम्नै सकिन । खै किन मृत्युको मुखबाट फर्केर आएजस्तै लाग्यो । तर जब बच्चाको मुख हेरे, टुलुटुलु आँखा हेरेको, तीमिलाई गाह्रो भयो आमा भनेजस्तै लाग्ने । नानीको अनुहार हेरेपछि सबै पीडा ठीक भएजस्तै लाग्यो ।

सबैले सुत्केरी हुँदाको पीडा विर्सन्छ र अर्को बच्चा जन्माउने तयारी गर्छ भन्छन् तर खै किन महिले त्यो पीडा भुल्नै सकिन । मेरा अरुपनि धेरै कारण छन् एउटा मात्रै बच्चा जन्माउनुमा तर एउटा चाँही म जब दोस्रो बच्चाको बारेमा सोच्थे यो कहाली लाग्दो समय र त्यो पीडा मेरो अगाडी आउँथ्यो र म फेरी त्यो अवस्था भोग्ने कुरा मनमा ल्याउनै सक्दिन थे । सायद आमा बन्नु , एउटा मान्छेले आफु जस्तै मान्छे जन्माउनु त्यो सानो कुरा हैन ।

आफ्नो सन्तानका लागि हरेक आमाले ९ महिनाको त्यो अत्यास लाग्दो गर्भावस्था र त्यो कहाली लाग्दो प्रश्रव पीडा सहेका हुन्छन् । तर त्यही सन्तानले आफ्नो आमालाई हेला गर्दा, वास्ता नगर्दा वा बाटोमा छोडिदिदा ती आमाको मन कस्तो हुन्छ होला ? नानी जन्मिएसीको १ वर्ष कुनै रात म आनन्दले सुतिन ।

राती बच्चाले रुँदा उठ्यो, दुध खुवायो, सन्चो नहुदा त पुरै रात नसुतेका थुप्रै रातहरु छन् । यो सायद हरेक आमाहरुले भोगेका हुन्छन् । मलाई कहिले म पुरै मस्तको निन्द्रा सुत्न पाउँछु होला भन्ने लाग्थ्यो ।

आज मेरो छोरी १७ वर्ष पुरा गरेर १८ वर्ष लागिन । मैले उनीसंग ठुलो अपेक्षा केही राखेको छैन किनभने अपेक्षा पुरा भएन भने चित्त दुख्छ त्यसैले आफ्ना लागि हरेक मान्छे बाँचिरहेको हुन्छ अरुका लागि बाँच्न सकियो भने त्यो जीवन सार्थक हुन्छ त्यसैले छोरी आफ्नो लागि मात्रै हैन अरुका लागि बाँच्न सिक जन्मदिनको शुभकामना ।

About The Author