काठमाडौ- सरकारले भोलि (मंगलबार) देखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोभिड १९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले मंगलबारदेखि नै खोप सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएसँगै सरकारले खोप अभिायन सञ्चालन गर्न लागेको हो । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना रहेको स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य प्रदेशमा पनि छिट्टै खोप कार्यक्रम सञ्चालन महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप पठाइसकिएको छ । यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको छ ।
‘भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने छ । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।