काठमाडौ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । आन्तरिक एकतासम्बन्धमा आइतबार राति भएको सहमतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने प्रस्ट्याएका छन् ।
सहमतिकै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले यस्तो धारणा व्यक्त गरेका हुन् । एमालेमा १० बुँदे सहमति भएको भोलिपल्ट नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको बताएका हुन् । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको उनले बताएका छन् ।
बरिस्ठ नेता नेपालले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्,’हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’
प्रतिनिधिसभा पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । सोही सन्दर्भमा थापाले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए ।
सुर्य थापाले के भनेका थिए ?
‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६– २३ = १२३ मात्र । सर्वाेच्चद्वारा न परमादेश, न पुनःस्थापना ! मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’