शंकर श्रेष्ठ
धादिङ – कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई धादिङमा भोलि असार २३ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।
जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई देशभर (आज) असार २२ गतेबाट लगाउने भनिएपनि धादिङमा २३ गतेबाट दोस्रो मात्राको खोप लगाउन लागेको हो ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।
पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । धादिङमा ५२ वटा खोप केन्द्रमार्फत खोप लगाउने तयारी भएको पौडेलले जानकारी दिए ।
‘भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकले नजिकको खोप केन्द्रमा पुगेर दोस्रो मात्राको खोप लगाउन सक्नेछन्’ पौडेलले भने,’४९ वटा हेल्थपोस्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र धादिङ अस्पताल गरी ५२ वटा स्वास्थ्य सस्थाबाट खोप लगाइनेछ ।’
खाेप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। खोप अभियान देशभर सञ्चालन हुने छ।