धादिङ – चार दिनदेखि सुत्केरी व्यथा लागेर छटपटाइरहेकी धादिङको गंगाजमुना गाउँपालिका–१ रिगाउँकी सुमिना तामाङलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले नै हेलिकप्टर चार्टर गरी काठमाडौ प्रसुतिगृह थापाथली पु¥याएको हो । उद्धार गरिएकी गर्भवती १७ वर्षकी हुन् । ‘बच्चा जन्माउन योग्य उमेर नपुगिसकेको र व्यथा लागेको अवधि लामो भइसकेकोले खतराबाट बचाउन हेलिकप्टर प्रयोग गरिएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए ।
‘११ गते गणेशहिमाल हेल्थ सेन्टरमा पुगेकी रहिछन्, त्यहाँ नभएपछि रि स्वास्थ्य चौकीमा ३ दिन राखियो’ स्वास्थ्य संयोजक अधिकारीले भने,‘वर्षातले कच्ची सडकमा एम्बुलेन्स आवतजावत गर्न सम्भव नै नभएपछि गाउँपालिकाकै खर्चमा हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको हो ।’
चारदिन अघि पनि गंगाजमुना गाउँपालिकाले वडा नं. ७ की मिनाको उद्धार गरी काठमाडौ पठाएको थियो । यो वर्षमात्रै ४ जना गर्भवतीलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिसकेको छ ।
विकट वस्तीमा सडकको सुविधा राम्रो नभएकै कारण हेलिकप्टर प्रयोग गरेर महंगो शुल्क तिर्न बाध्य छन् । गाउँपालिकाले गाउँपालिकाभित्र सुरक्षित प्रशुति गराउन कठिनाई भए निःशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।