धादिङ – नेपाल विज्ञान प्रविधी प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आईतबार धादिङको नौबिसे १ धार्केमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको कार्यालयमा भुकम्प आउनु भन्दा अघि नै जानकारी दिने प्रविधी जडान गरेको छ ।
नास्ट र चिनियाँ विशेषज्ञ सहित आठ जनाको टोलीले भुकम्प आउनु भन्दा अघि सुचना प्राप्त गर्न सकिने करिब २२ लाख मुल्य बराबरको यन्त्र जडान गरेको हो । नास्टका उपकुलपति प्राध्यापक डा। जिवराज पोखरेलका अनुसार भुकम्प आउनु अघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याईएको हो । नास्टले यस अघि बिहीबार आफ्नै कार्यालय ललितपुरको खुमलटार, शुक्रबार काभ्रेको बनेपामा यस्तो यन्त्र जडान गरेको नास्टका सामान्य प्रशासन महाशाखा प्रमुख शिशिरराज कोलाक्षपतीले बताउनुभयो । आईतबार धार्के र यस आसपासका क्षेत्रलाई मध्यनजर गर्दे रेडियो राजमार्गमा भुकम्प आउनु भन्दा अघि नै जानकारी दिने प्रविधी जडान गरी साँचो हस्तान्तरण गरिएको छ ।
चिनको इन्स्टिच्युट अफ केयर लाईफ (आईसीयल), पिपुल्स रिपब्लीक अफ चाईनाको अनुदानमा ल्याईएको यो प्रविधीलाई सबै नागरिक सम्म पु¥याउन एफ एम रेडियोका साथै मोबाईल एप्स, अस्पताल तथा सार्वजनिक ठाउँमा साईरन प्रयोग गर्न सकिने नास्टका ईन्जिनियर देव कुमार शाहले बताउनु भयो । शाहका अनुसार चिनियाँ सहयोगको ८० वटा सेन्सर जडानको काम सुरु भए पनि देशभर ३२० वटा सेन्सर आवश्यक पर्ने भएकोले २४० वटा सेन्सर नास्टले नै किन्नु पर्ने छ । नास्टले यो प्रविधीबाट भुकम्प आउनु भन्दा ६ सेकेण्ड देखी २२ सेकेण्ड अघि नै जानकारी प्राप्त हुने जनाएको छ । भुकम्प गईरहने देश जापान, मेक्सीकोले ७ सेकेण्ड देखी १ मिनेट अघि सम्म ‘अर्ली वार्निङ सिष्टम’ सञ्चालनमा ल्याएका छन् ।