धादिङ – नेकपा एमालेका नेता एवं किरान्चोकका पूर्व गाविस अध्यक्ष योवराज बरालको हृदयघातका कारण मृत्यु भएको छ ।
शुक्रबार बिहान खेतमा काम गर्न जाने क्रममा एक्कासी ढलेका बरालको उपचारको क्रममा मृत्यु भएको हो ।
बरालको ४ छोरी, एक छोरा र श्रीमती छन् । ५९ वर्षीय बराल वि.स.२०४४ सालमा गाउँ कमिटिबाट राजनैतिक यात्रा सुरु भएको थियो ।
वि.स. २०४२ सालमा एमालेको इलाका कमिटि सदस्य रहेका उनी वि.स.२०४९ र वि.स.२०५४ सालमा किरान्चोक गाविस अध्यक्ष भएर जनताको सेवा गरेका थिए । वि.स.२०६४ सालमा एमाले जिल्ला कमिटिमा रहेका बराल २०६९ देखि सल्लाहकारमा थिए । विद्यार्थी जीवनदेखि नै उनी राजनीतिमा सक्रिय थिए ।
बरालको आजै अन्त्यष्टि गरिएको छ । बरालको अन्त्यष्टिमा नेकपा एमाले पोलिटव्युरो सदस्य राजेन्द्र प्रसाद पाण्डेले पार्टीको झाण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अन्त्यष्टिमा निःवर्तमान प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी, बागमती प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुगाना, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, नेकपा एमालेका अध्यक्ष शिव कँडेल, सचिव सुवास खतिवडा लगायत एमाले, माओवादी, नेपाली कांग्रेसका स्थानीय एवं जिल्ला नेताहरु सहभागी थिए ।