चितवन– भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विहिबारको नवौँ नगरसभामा उपमेयर पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३÷३ करोड आय हुने अनुमान गरिएको छ ।
बजेटमा अधुरा योजनाहरुको निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षका लागि शहरी पुर्वाधार, भू उपयोग तथा वस्ति विकास र अधुरा योजनाहरुको निरन्तरता दिइएको छ । शिक्षा, स्वास्थ्य, पशु तथा कृषि विकास, वातावरण, युवा तथा खेलकुद, पर्यटन लगायतका क्षेत्रलाई समेटिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न २ करोड तथा यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट ९८ करोड बजेट विनियोजन गरिएको छ ।
प्रत्येक वडालाई १ करोड ७० लाखको दरले जम्मा ४९ करोड ३० लाख एकमुष्ट छुट्टाइएको छ । शहरी पुर्वाधार, भू उपयोग तथा बस्ती विकासका लागि ३१ करोड, सघं तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण गर्नको लागि रु १० करोड विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा १२ करोड ५० लाख, स्वास्थ्य सेवाका लागि ९ करोड छुट्टाइएको छ भने कोभिडको नियन्त्रण तथा प्रभावकारी उपचारको लागि १ करोड ९० लाखको महानगरपालिका कोभिड कोष स्थापना गरिने बताइएको छ ।
सुत्केरीलाई निःशुल्क यातायात एम्बुलेन्स खर्चको व्यवस्था समेत गरिएको छ । कृषि क्षेत्रमा ८ करोड, पशुसेवाका कार्यक्रमका लागि ८ करोड ७० लाख, वातावरण तथा सरसफाइ र हरियाली प्रवद्र्धनका लागि ७ करोड, युवा तथा खेलकुदमा ३ करोड, विपद् व्यवस्थापनमा ५० लाखका साथै विपद तथा प्रकोप व्यवस्थापन कोषमा एकमुष्ठ रु १ करोड ५० लाख विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर रेनु दाहालले अधुरा योजनालाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याइने र योजना सार्ने प्रवृत्तिलाई क्रमशः निरुत्साहित गर्दै लैजाने बताइन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र वातावरण तथा सरसफाइ एवम् हरियाली प्रवर्धनमा जोड दिइएको छ ।