काठमाडौं –
नेकपा (माओवादी केन्द्र)ले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ। तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही गरेको हो।
यी हुन् माओवादी छोडेर एमाले प्रवेश गरेको आरोपमा कारबाहीमा परेका स्थानीय तहका जनप्रतिनिधि
उनीहरूलाई साधारण सदस्यबाटै हटाइएको छ। माओवादीको केन्द्रीय समिति बैठक भर्चुअल रुपमा भएको थियो। बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई कारबाही पर्दै माओवादीबाट निष्कासन गरेको छ।
यस्तै, रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साहलाई पनि कारबाही गरिएको केन्द्रीय सदस्य रापदीप आचार्यले बताए।
यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह, सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास तातीलाई पनि कारबाही गरिएको छ। उनीहरु सबै माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको केन्द्रीय सदस्य आचार्यले बताए।