हेटौंडा- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेकपा एमालेको दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् ।
नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । यससँगै बागमती प्रदेश सरकारको चौंथो नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।
यसअघि आजै बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।
बागमतीमा हाल सभामुखसहित १०९ सांसद मध्ये ५६ जना नेकपा एमालेका रहेका छन् । प्रदेशसभामा अब असार एक गते बजेट आउने छ । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ ।