
२९ जेठ, काठमाडौं–
विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेर खेलेको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध ३ गोल मात्र व्यहोरेको हो ।
पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाएका थिए । दोस्रो हाफमा अष्ट्रेलियाले एक गोल मात्र थप्यो ।
यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो टिम अष्ट्रेलियासंग नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।
अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।
तीन खेलाडीको डेब्यु
अष्ट्रेलियाविरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । अष्ट्रेलियाविरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले इन्जुरी टाइममा मैदान प्रवेश गर्दै डेब्यु गरे । पहिलो पटक नेपाली टिममा परेका ६ मध्ये गोलकिपर विशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् । यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।
अष्ट्रेलियाविरुद्ध गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।
पहिलो हाफमा दुई गोल व्यहोरेको नेपालले दोस्रो हाफमा एक खेलाडी कम हुँदा एक गोल मात्र व्यहोर्यो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रह्यो ।
फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मेहनतको अलमुताइरीले प्रशंसा गरे । ‘पहिलो हाफको सुरुमै गोल खायौँ र दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ । तर खेलाडीले मेहनत गरेर खेले । म यसमा खुशी छु ।’ उनले भने,’नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ ।’ अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मेहनत गरेर खेलेको बताए ।
नेपालले समूह बीको ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसंऊ समान ३-० को हार बेहोर्यो भने चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो ।