
९ जेठ , एजेन्सी –
भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’बाट संक्रमित भएका करिब ९ हजार मानिसहरु भेटिएका छन् । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमणलाई म्यूकर माइकोसिस भनिन्छ । निकै जोखिमपूर्ण मानिएको यो संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत छ । केही मानिसहरुलाई मात्र आँखा हटाएर बचाइएको छ ।
यद्यपि पछिल्लो केही महिनायता भारतमा म्यूकर माइकोसिसका धेरैजसो संक्रमित यसअघि कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित भएका मानिसहरु छन् । डाक्टरहरु कोरोना का संक्रमितको उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिको कारण यस किसिमको समस्या आएको हुन सक्ने बताउँछन् ।
यसबाट विशेषगरी मधुमेहका बिरामी जोखिममा रहने विशेषज्ञहरुको भनाइ छ । डाक्टरहरुअनुसार कोरोनाको संक्रमणबाट मुक्ता भएको १२ देखि १८ दिनपछि यस्तो समस्या देखिने पाइएको छ ।
म्यूकर माइकोसिसका संक्रमितहरुमध्ये आधाभन्दा धेरै महाराष्ट्र र गुजरातमा फेला परेका छन् । भारतका कम्तीमा १५ अन्य राज्यमा आठदेखि ९०० संक्रमित फेला परेका छन् । भारतमा निरन्तर कोरोनाका संक्रमितको संख्या बढेसँगै सबै राज्यसँग यो रोगलाई इपिडेमिक अर्थात् संक्रामक रोगको रुपमा घोषणा गर्न माग गरिएको छ ।
भारतको इन्दौरस्थित यसवन्तराव अस्पतालमा एक साताअघि म्यूकर माइकोसिसका आठजना संक्रमित थिए तर अहिले यो संख्या १८५ पुगिसकेको छ । अस्पतालका औषधि विभागका प्रमुख भीपी पाण्डेका अनुसार ८० प्रतिशत संक्रमितको तत्काल अपरेसन गर्नुपर्ने देखिएको छ । उनले भने, ‘यस किसिमले संक्रमित बढ्नु अपेक्षाभन्दा बाहिरको कुरा हो ।
यसअघि वर्षमा एक वा दुई म्यूकर माइकोसिसका संक्रमित देखिन्थे ।’ म्यूकर माइकोसिसबाट संक्रमित हुनेले समयमा नै उपचार पाउन नसकेको अवस्थामा मृत्युदर निकै उच्च हुन सक्ने पाण्डेले बताए ।
२०७८ जेठ ९ गते प्रकाशित