
१७ बैशाख , एजेन्सी –
भारतमा कोरोना महामारीले ‘सुनामी’ को रूप लिइसकेको छ । तत्काल संक्रमितको संख्यामा कमी आउने सम्भावना देखिएको छैन । पछिल्लो एक साता भारतमा भाइरसबाट संक्रमित हुनेको संख्या अन्य कुनै देशमा भन्दा बढी छ । यो अवधिमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सामूहिक रुपमा अन्त्येष्टि गरिँदै । यो तस्बिर रोयटर्सका फोटोपत्रकार दानिस सिद्दीकीले ड्रोनको सहायताले खिचेका हुन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए।
मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।
एक दिनको अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको छ ।
भाइरस प्रभावित देशहरूको सूचीमा शीर्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् । ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।
२०७८ बैशाख १७ गते प्रकाशित