Thu. Nov 28th, 2024

बगरको ढुङ्गा र थोत्रा कागज सिंगारेर सिकाई सामाग्री

शंकर श्रेष्ठ
१४ बैशाख, धादिङ–

बगरका स–साना ढुङ्गा बटुलेर रंगीन पारिएको छ । रातो, सेतो, निलो, हरियो रंगहरु भरिएको कुनै ढुंङ्गामा अंक र अक्षर लेखिएको छ त कुनैमा चन्द्र, सुर्य, हिमाल, पहाडका चित्र कोरिएको छ । थोत्रा कार्टुन रंग्याएर हात्ती, घोडा, मुसा विरालो, चराको आकार सजाइएको छ । यो बाल कक्षाका विद्यार्थीलाई अक्षर चिनाउन र बोल्न सिकाउन प्रयोग गरिने सिकाई सामाग्री अर्थात खेलौना हो ।

‘बगरमा पाइने स–साना ढुङ्गामा लेखिएका अंकले अक्षर चिन्न र नम्बर गन्ति गर्न सिकाउँछ । चाउचाउका काटुनबाट बनाइएको चित्रले वस्तु चिनाउन मद्दत गर्छ ।’ प्रारम्भिक बाल विकास केन्द्रका प्रशिक्षक भक्तराज रसाइली भन्छन्–‘यस्ता शैक्षिक सामाग्री प्रयोगले विद्यार्थीहरुमा आफ्नो रुची र चाहना अनुसार रमाइलोसंग सिक्ने वातावरण सिर्जना गराउँछ ।’

कपडा सिलाउदा निस्किएका धुजाबाट पनि बजारमा पाइने ‘डमी’ जस्तै शिकाइ सामाग्री बनाएर विद्यार्थीको सिकाइ सहज बनाउनतिर लागेका छन् । प्रयास नेपाल धादिङ र प्लानेट इन्फान्ट डेभलपमेन्टसंगको सहकार्य संचालित प्रारम्भिक बालविकास कार्यक्रम मार्फत गजुरी गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा यो अभियान चलाउदैछ । पहिलो चरणमा अहिले बाल कक्षाका शिक्षकहरुलाई सामाग्री निर्माण र प्रयोग सम्बन्धी तालिम दिइरहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

गजुरी गाउँपालिकामा ४५ ओटा सामुदायिक विद्यालय छन् । ‘बाल कक्षाका शिक्षक तालिममा सिकेर आफैले निर्माण गरेको सिकाई सामाग्री प्रयोग गर्नेछन्’ गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गाना भन्छिन्– ‘स्थानीय स्तरमै पाइने श्रोत साधन प्रयोग गरेर आफैले बनाएको सिकाई सामाग्रीले बालबालिकाको पठनशीप विकासमा सुधार आउनेमा विश्वस्त छौं ।’

बजारमा पाइने महंगो शैक्षिक सामाग्रीले भन्दा स्थानीय स्तरमा निर्माण गरिएको शैक्षिक समाग्रीले बालबालिकाको सिकाइमा छिटो सुधार आउने सरोकारवालाहरुको अनुभव छ । बजारमा पाइने रेडिमेट सामाग्रीहरु भन्दा शिक्षकहरुले आफैले निर्माण गरेको सिकाई सामाग्री प्रयोग गरेर बालबालिकालाई सजिलोसंग सिकाउन सक्नेछन् ।

तालिमको तयारीमा जुटिरहेका प्रयास नेपालका सामाजिक परिचालक कपिलदेव सापकोटा भन्छन्–‘स्थानीय रुपमा भएका शैक्षिक सामाग्री प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीको सिकाइ पनि दिगो हुनेछ ।’

शिक्षण गर्ने कला र आवश्यक विधिको अभावमा शैक्षिक अवस्था सुधार्न मुस्किल भइरहेका बेला यसले सफलता पाउनेमा सरोकारवालाहरु विश्वस्त बनेका छन् ।

२०७८ बैशाख १४ गते प्रकाशित ।

About The Author

अन्य समाचारहरु: