१४ बैशाख, धादिङ –
कोरोना भाइरसको दोश्रो चरणमा महामारी भयावह भन्दै गर्दा धादिङबेसीमा अस्थायी कोभिड अस्पताल स्थापना भएको छ । धादिङ अस्पतालले जिल्लामै पहिलो पटक डिभिजन वन कार्यालयको भवनमा अक्सिजनसहित ३० वेडको आइशोलेसन तयार गरेको हो ।
तयारी अवस्थामा रहेको कोभिड अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । आइशोलेसन वेड थप गर्ने विषयमा भने भौतिक संरचनाको अभावले समस्या भइरहेको अध्यक्ष धमलाले बताएका छन् ।
गाउँ गाउँमा संक्रमण फैलिनेक्रम बढिरहेको भएपनि स्थानीय तहहरुले भने क्वारेन्टाइन समेत तयार गरेका छैनन् । अस्थाई कोभिड अस्पताल स्थापनाको लागि स्थानीय सरकारलाई बजेट पठाएको भएपनि विभिन्न बहानामा क्वारेन्टाइन समेत तयार गर्न सकेका छैनन् ।
पहिलो चरणमा संचालनमा ल्याइएको क्वारेन्टाइन पनि केही गाउँपालिकाको बाहेक अधिकांशको तयारी अवस्थामा नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सदरमुकाममा भन्दा स्थानीय स्तरमा नै आइशोलेसन तयार गरेर संचालन गर्दा संक्रमित र चिकित्सक दुबैलाई जोखिम कम हुने चिकित्सकहरुको ठम्याइ छ ।
२०७८ बैशाख १४ गते प्रकाशित