Sun. Mar 16th, 2025

भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढीलाई संक्रमण, २२६३ को मृत्यु

१० बैशाख , एजेन्सी –

भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार २ सय ६३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । विश्वमा उच्च संक्रमण भएका मुलुकमध्ये भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९ सय २० पुगेको छ भने १ करोड ३६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ५४ लाख ७८ हजार ४ सय २० डोज कोरोना खोप लगाइसकेको छ ।

पछिल्लो दुई सातायता भारतमा महामारीको फैलने क्रम तीव्र बनेको छ । विज्ञहरूले यसलाई महामारीको दोस्रो चरण दाबी गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारतको पूरै स्वास्थ्य क्षेत्र धर्मराएको छ । रेम्डेसिभिरजस्ता अत्यावश्यक औषधि मात्र नभएर अक्सिजन र बेडको चरम अभाव सुरु भएको छ ।

सामाजिक सञ्जालहरू आफन्तका लाागि अक्सिजन र बेडका लागि गुहार लगाएका सन्देशहरूले भरिएका छन् । समयमा अक्सिजन नपाएर मृत्यु हुनेको संख्या बढ्दो छ ।

राजधानी दिल्लीमै अक्सिजन र बेडको हाहाकार मच्चिएपछि केन्द्र सरकारले चासो देखाए पनि अवस्थामा खासै सुधार आएको छैन । बिहीबार पनि दिल्लीका कतिपय अस्पतालका प्रमुखहरूले अक्सिजन केही बेरका लागि मात्र भएको भन्दै सरकारसँग गुहार लगाइरहेका छन् ।

दिल्लीको शान्ति मुकुन्द अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुनील सग्गर त भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गर्दा एक्कासि भक्कानिए । ‘

यो अवस्था दुर्भाग्यपूर्ण हो । हामी डाक्टर र अस्पतालले बिरामीलाई अक्सिजनसमेत दिन सक्दैनौं भने कस्तो अवस्था होला बिरामी मर्छन्,’ उनले भनेका छन् ।

दिल्लीबाहिरको अवस्था झनै दारुण छ । कैयन् राज्यमा अस्पतालहरूले अक्सिजन सकिएपछि सिकिस्त बिरामीहरूलाई अन्य अस्पताल पठाउन थालेका छन् । अक्सिजनको चरम अभावलाई लिएर केन्द्र सरकारको तीव्र आलोचना सुरु भएको छ ।

यस्तो परिस्थिति सिर्जना हुनुमा दोस्रो लहरप्रति बेवास्ता र आवश्यक पूर्वतयारीको अभावलाई नै प्रमुख कारण ठानिएको छ ।

२०७८ बैशाख १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: