२३ चैत , काठमाडौ –
सेयर बजारमा नेप्से परिसूचक र बजार पुँजीकरणले आइतबार नयाँ रेकर्ड बनाएका छन् । यसअनुसार नेप्से परिसूचक २ हजार ६ सय ५७।७१ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब २६ अंक बढेको हो ।
यसअघि गत फागुन ९ मा नेप्से उच्च २ हजार ६ सय ४० विन्दुमा पुगेर ओरालो लागेको थियो । आइतबार उक्त विन्दु पनि पार गरेर नयाँ रेकर्ड बनाएको हो । यससँगै नेपालको सेयर बजारको आकार आइतबार ३६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च हो । नेप्से परिसूचक निरन्तर बढेपछि सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि हालसम्मकै उच्च पुगेको हो । आइतबार कायम भएको कुल बजार पुँजीकरण नेपालका कुल गार्हस्थ्य उत्पादन जीडीपी को करिब ९८ प्रतिशत हो । यो अनुपात पनि हालसम्मकै उच्च हो ।
आइतबार सेयर बजारमा पनि ९ अर्ब रुपैयाँभन्दा केही बढीको सेयर कारोबार भएको छ । यो करिब ९० हजार कारोबारबाट २ सय १२ कम्पनीका १ करोड ८१ लाख ७३ हजार कित्ता सेयर किनबेच भए । कारोबार रकम केही सातायताकै उच्च हो ।
विगतमा १० अर्ब ६१ करोडभन्दा बढीको सेयर कारोबार भएको नेप्सेमा पछिल्लो केही समय कारोबार रकममा कमी आएको थियो । आइतबार नेप्सेमा गत माघ २६ यताकै सर्वाधिक रकमको कारोबार भएको हो । गत बिहीबार सेयर बजारमा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आइतबार ०।९३ प्रतिशतले बढ्यो । सो दिन व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०।९९ प्रतिशतले बढेको छ । सामान्यतया चैत महिना सेयर बजारका लागि त्यत्ति उपयुक्त मानिँदैन ।
चैतको अन्त्यमा निजी क्षेत्रबाट ठूलो रकम करबापत सरकारी खातामा जाने, सेयर धितोमा कर्जा लिएका लगानीकर्ताले बैंक तथा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्नेलगायत कारण सेयर बजारमा प्रतिकूल प्रभाव पर्ने गरेको थियो । तर अहिले बजारमा बेग्लै प्रवृत्ति देखिएको छ । हरेक दिनजसो बजारले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
२०७७ चैत २३ गते प्रकाशित