
२० चैत, एजेन्सी –
ताइवानमा झन्डै ३५० यात्रु सवार एउटा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रेलभित्र अझै दर्जनौँ मानिस फसिरहेको बताइएको छ। सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि रेल दुर्घटनामा परेको जनाइएको छ। ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकार्य जारी रहेको छ। उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो
त्यसमा दर्जनौँ पर्यटकहरू पनि भएको बुझिएको छ। उनीहरूमध्ये अधिकांश पुर्खाहरूको सम्मानमा मनाइने एउटा पर्वमा सहभागी हुन गइरेका थिए। उक्त रेल स्थानीय समयानुसार बिहानको ९ बजे पटरीभन्दा बाहिर निस्किएको ठानिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माणकार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको कुरा बीबीसी नेपालीमा उल्लेख छ। अनलाइनमा राखिएका तस्बिरहरूमा प्रभावित नभएका डिब्बाका यात्रुहरू आफ्नो समान लिएर रेलको पटरीमा हिँडिरहेको देख्न सकिन्छ।
मैले अकस्मात् एउटा शक्तिशाली कम्पन महसुस गरेँ अनि आफूलाई भुइँमा लडिरहेको अवस्थामा पाएँ, नाम नखुलाइएकी एक यात्रुले ताइवानको यूडीएन सञ्चार माध्यमलाई भनिन हामीले रेलको छानोसम्म पुगेर बाहिर निस्कनका लागि झ्याल फुटायौँ।
शुक्रबारको दुर्घटनालाई उक्त टापुमा भएको दशकौँयताकै एउटा सबैभन्दा नराम्रो रेल दुर्घटनाका रूपमा लिइएको छ। सन् २०१८ मा एउटा रेल दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाएका थिए।
ताइवानको सरकारले फसिरहेका मानिसहरूको उद्धार उच्च प्राथामिकतामा रहेको जनाएको छ। ताइवानको इतिहासकै खराब रेल दुर्घटना सन् १९९१ मा भएको थियो।
त्यसबेला दुईवटा रेल ठोकिँदा ३० जना यात्रुको निधन भएको थियो भने ११२ जना घाइते भएका थिए।
रेलमा यात्रा गरिरहेका अधिकांश टूम स्वीपिङ फेस्टिभल भनिने एउटा चाड मनाइरहेका मानिसहरू भएको ठानिएको छ। उक्त पर्व मनाउन क्रममा मानिसहरू आफ्ना मित्र र परिवारको सदस्यहरूको समाधिस्थलको भ्रमण गर्छन् र त्यहाँ प्रार्थना गर्छन्।
मृतकहरूलाई सम्मान गर्न वर्षको यो अवधिमा मानिसहरू त्यस्तो यात्रा गर्ने गर्छन्। स्थानीय सञ्चारमाध्यमले ज्यान गुमाने मध्येमा रेलका चालक पनि रहेको उल्लेख गरेका छन्।
ताइवानकी राष्ट्रपतिले दुर्घटनाग्रस्त रेलमा फसिरहेका मानिसको उद्धार सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेकी छन्।
२०७७ चैत २० गते प्रकाशित