१९ चैत , धादिङ –
बुधबार अपराह्नदेखि भएको वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन मद्दत पुग्ने विज्ञहरूले बताएका छन् ।
बिहीबार बिहानदेखि धादिङ सहित देशका विभिन्न ठाउँमा हिजो परेको पानी परेपछि मौसममा सुधार देखिन थालेको छ ।
पानीका थोपासँगै वायुमण्डलमा तैरिएर रहेको प्रदूषणका कण जमिनमा झरेको छ,’पूर्वसचिवसमेत रहेका वरिष्ठ मौसमविज्ञ ऋषिराम शर्माले भने, ‘केही हदसम्म बिहीबारदेखि मौसममा सुधार आउने देखिन्छ ।
उनका अनुसार पानी पार्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घट्न मद्दत पुग्नेछ । ‘वर्षा र हावाले प्रदूषणको मात्रा घटाएपछि स्वतः वायुमण्डल सफा हुँदै जान्छ,’ शर्माले थपे, ‘ठूलो वर्षा भएको भए छ्याङ्गै हुन्थ्यो ।
केही दिनदेखि हावासमेत नचल्दा प्रदूषण वायुमण्डलको तल्लो क्षेत्रमै तैरिएर बसेको थियो । जसका कारण प्रदूषण बढ्दा आँखा पोल्ने, घाँटी खसखस हुने, श्वास फेर्न गाह्रो हुनेलगायत समस्या देखिएको सर्वसाधारणको भनाइ थियो ।
वायुमण्डलको पारदर्शिता (भिजिबिलिटी) समेत न्यून हुँदा दर्जनौं आन्तरिक उडान अवरुद्ध भएका थिए ।काठमाडौंसहित वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा बुधबार अपराह्नदेखि हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएको हो ।
२०७७ चैत १९ गते प्रकाशित