
१६ चैत , काठमाडौ –
राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।
केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल(कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं उपत्यकासहित देशका कैयौँ भेगमा फैलिएको वायु प्रदुषण र तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विज्ञहरूले बताएपछि सरकारले यो निर्णय गरेको हो।
प्रदूषण हट्न आवश्यक पर्ने वर्षा वा वायुको गतिका लागि केही दिन अझै प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले बताएका छन्।
२०७७ चैत १६ गते प्रकाशित