
१२ चैत , काठमाडौ –
त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले सन् २०२२ मा कतारमा हुन लागको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे नेपाली राष्ट्रिय टोली मैदानमा उत्रिने छन्। घरेलु मैदानमा घरेलु समर्थकको साथमा नेपाली टीमले अघि बढ्ने अवसर पाएको छ।
लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य सुखत सुरुआत गर्दै अन्तिममा उपाधि जित्नु रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। दुई महिनादेखि तयारी गर्दै आएको नेपालले उत्कृष्ट प्रदर्शनसहित यस प्रतियोगिताको उपाधि चुल्ने योजना बनाएको दाबी प्रशिक्षक बालगोपालको छ।
‘कीर्गिस्तान परिचित टोली हो। बंगलादेशसँग उसले खेलेको देखेका छौं। नेपालको पहिलो लक्ष्य उत्कृष्ट प्रदर्शन हो। उत्कृष्ट प्रदर्शनपछि नतिजा राम्रो नहुने कुरै भएन।
हामी घरेलु मैदानमा उपाधिसहित फुटबल समर्थकलाई खुसी दिन चाहन्छौं,’ बालगोपालले भने। उनले नेपाली खेलाडीको मनोबल उच्च रहेको र टोलीमा कुनै समस्या नभएको बताए।
मंगलबार साँझ दशरथ रंगशालामा भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको छ। नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्दैछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्।
फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।
२०७७ चैत १२ गते प्रकाशित