
३ चैत, नेपालगन्ज
नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगमा धादिङले आफ्नो पहिलो खेलमा फराकिलो जित हात पारेको छ ।
बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएको धादिङ समाजले कर्णाली प्रदेशबाट सहभागी भएको जुम्लाको टिमलाइ ९ १ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
धादिङको लागि आमिर श्रेष्ठले ४ गोल, शिशिर लेखीले ३ गोल तथा विपिन कँडेल र उमेश राइले १–१ गोल गरेका थिए । ४ गोल गरेका श्रेष्ठ खेलको म्यान अफ द म्याच चुनिएका छन् । जुम्लाको तर्फबाट संगम शाहीले १ गोल फर्काएका थिए ।
७ प्रदेशबाट प्रदेश लिगमा विजेता भएका टिमहरु एक आपसमा प्रेसिडेन्ट लिगको उपाधीका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको धादिङले दोस्रो हाफमा ७ गोल थपेको थियो । पहिलो हाफको अन्त्यतिर धादिङ १० खेलाडीमा सिमित भएपनि खेलमा त्यसको कुनै प्रभाव परेन ।
खेलको ४० औ मिनेटमा जुम्लाका खेलाडीलाइ डिएरियामा फल गरेपछि धादिङका खेलाडी सिधै रातो कार्ड पाएका थिए । उक्त रातो कार्डपछि पाएको पेनाल्टीलाइ जुम्लाले गोलमा परिणत गर्न भने सकेन ।
धादिङका खेलाडीहरुको हौसला बढाउनको लागि नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना र फुटवल संघ धादिङका अध्यक्ष दीपक खतिवडा नेपालगन्ज नै पुगेका छन् ।
रङ्गशालामै पुगेर अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिगमा बागमती प्रदेशको तर्फबाट खेल्ने धादिङ समाजका खेलाडीहरुलाइ मेयर ढुङ्गाना र फुटबल संघ धादिङका अध्यक्ष खतिवडाले आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
नेपालगंज पुगेर नगर प्रमुख ढुङ्गानाले खेलाडीहरुलाई भेट्दै बागमती प्रदेशका लागि प्रेसिडेन्ट कप जितेमा नीलकण्ठ नगरपालिकाले नगद २ लाख खेलाडीहरुलाई प्रदान गर्ने बताएका हुन् । यस्तै जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पनि बागमती प्रदेशको लागि खेल्दै गरेको धादिङको टिमका खेलाडीलाई १ लाख दिने घोषणा गरेका छन् ।