
२५ फागुन, धादिङ–
धादिङमा आयोजना गरिएको समन्वय कप फुटबल प्रतियोगिताको उपाधि नीलकण्ठले हात पारेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा मंगलबार भएको फाइनल खेलमा ज्वालामुखीलाई ४–२ ले हराउँदै नीलकण्ठले उपाधि हासिल गरेको हो ।
खेलको पहिलो हापमा ज्वालामुखीका १६ नम्बर जर्सीका विरेन थापा मगर र १७ नम्बरका सुमन थापा मगरले १–१ गोल गरेका थिए । पहिलो हाफमा दबाबमा परेका नीलकण्ठका खेलाडीहरुले दास्रो हापमा ४ गोल गर्दै उपाधि हात पारेका हुन् । नीलकण्ठ नगरपालिकाको जितका लागि विपिन कडेलले ३ गोल र एन्जल तामाङले १ गोल गरेका थिए ।
प्रतियोगीताको विजेता नीलकण्ठले पुरस्कार स्वरुप नगद १ लाख, उपविजेता ज्वालामुखीले नगद ५० हजार र, सान्त्वना हुने त्रिपूरासुन्दरी र सिद्धलेकले नगद १५–१५ हजार शिल्ड र प्रमाणपत्र पाएका छन् । त्यस्तै फाईनल खेल अवलोकनका लागि पुगेका जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले खेलाडीहरुको हौसलाका लागि विजेता समूहलाई १५ हजार र उप विजेता समूहलाई १० हजार नगद प्रदान गरेका छन् ।
धादिङ जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभुमी युवा समाज खाल्टे पात्लेको व्यवस्थापनमा प्रतियोगिता संचालन गरिएको हो । फागुन २१ गतेदेखि संचालन गरिएको प्रतियोगीतामा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडी समूहहरु सहभागी थिए ।
२०७७ फागुन २५ गते प्रकाशित