२२ फागुन, धादिङ-
गजुरी गाउँपालिका भित्रका ब्यवसायीहरुलाइ कर, भ्याट र लेखा ब्यवस्थापन तालिम दिइएको छ ।
उद्योग बाणिज्य संघ, धादिङ र गजुरी गाउँपालिकाको समन्वयमा पालिका भित्रका इच्छुक ब्यवसायीहरुको लागि २ दिन तालिम दिइएको उद्योग बाणिज्य संघ धादिङले जानकारी दिएको छ ।
कर, भ्याट र लेखा ब्यवस्थापनका विज्ञ हरि रायमाझीले सहभागीहरुलाइ कर भ्याट र लेखा ब्यवस्थापनम प्रक्रिया, चरण र ध्यान दिनुपर्ने कुराहरुबारे २ दिन सहजीकरण गरेका थिए । तालिममा गजुरी गाउँपालिका भित्रका ४६ जना ब्यवसायीहरु सहभागी भएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्रीले यो तालिम ब्यवसायी ब्यक्तिहरुले अनिवार्य लिनुपर्ने तालिम भएको बताए । ब्यवसाय सुरु गर्नु भन्दा अगावै यो तालिम लिन सकेको खण्डमा ब्यवसायलाइ अझ सुदृढ तरिकाले संचालन गर्न सकिने खत्रीको भनाइ थियो ।
गजुरी गाउँपालिकासंगको समन्वयमा गजुरी भित्रका ब्यवसायीहरुको लागि तालिम आयोजना गरिएको भने पनि आगामी दिनमा अन्य पालिकाहरुवीच समन्वय गरि अन्यत्रका ब्यवासायीहरुलाइ पनि यस्तै तालिम संचालन गर्ने खत्रीले बताए ।
त्यस्तै तालिम समापनमा बोल्दै गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुङगानाले ब्यवसायीहरुको क्षमता अभिबृद्धि र ब्यवसाय चुस्त दुरुस्त संचालनमा कर भ्याट र लेखा ब्यवस्थापन तालिमले महत्वपुर्ण योगदान दिने विश्वास ब्यक्त गरिन् । आगामी दिनमा पनि ब्यवसायीहरुको क्षमता अभिबृद्धि र उद्यमशिलताको विकासका लागि अझै फरक किसिमका तालिमहरु गाउँपालिकाले संचालन गर्ने बताइन् ।
त्यस्तै पालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले ब्यवसायीहरुको समस्या, गुनासा सुन्न गाउँपालिका सदैव तयार रहेको बताउदै आगामी दिनमा पनि ब्यवसायीहरुको हक हित र क्षमता अभिृबृद्धिको लागि विभिन्न कार्यक्रमहरु ल्याउने बताए । उनले भने, ‘गजुरी गाउँपालिकाले ब्यवसायीक प्रोफाइल तयार गर्दै छ । यो तयार भइसकेपछि यहाँ कस्ता कस्ता ब्यवसायहरु संचालनमा छन् र तिनिहरुलाइ अच उचाइमा लैजान पालिकाले के गर्नु पर्ने हुन्छ भन्ने विषयमा नयाँ योजना बनाउन सहयोग पुर्याउने छ ।’