Tue. Mar 4th, 2025

धादिङको धुनीबेसीमा सुनका गहना लुट्न हत्या, पाँचजना पक्राउ

हत्यामा संलग्नहरुलाई सार्वजनिक गरिदै ।


२१ फागुन, धादिङ–

शरीरमा लगाएको सुनको गहना लुट्नका लागि धादिङमा एक वृद्धाको हत्या गरिएको खुलेको छ । जिल्लाको धुनीबेसी नगरपालिका वडा नं ४ ढुङ्गेनीमा बस्ने ७५ वर्षीय सान्नानी सार्कीको हत्या भएको हो । गत पुस २४ गते बिहान दुई बजेको समयमा आफ्नै घरमा सुतिरहेको समयमा कर्तव्य गरी मारी उनले लगाएको सुनका गहना लुटिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा पाँच जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं १ घर भएका २५ वर्षीय अनिल थिङ भन्ने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नं ९ घर भई सप्तरी काठमाडौँ ठूलोभ¥याङ बस्ने ३२ वर्षीय साजन बि.क, ओखलढुङगाको चिशखुगढी गाउँपालिका वडा नं ३ घर भई काठमाडौँको थानकोट बस्ने २४ वर्षीय अबिसराज कार्कीलाई पक्राउ गरेको छ ।

त्यस्तै लुटिएको गहनाहरु खरिद गर्ने काभ्रेपलान्चोकको धुलीखेल नगरपालिका वडा नं २ घर भई काठमाडौँको कालीमाटी बस्ने ४२ वर्षीय सुन व्यवसायी धनबहादुर कालीराज र सुन बिक्रि गर्ने कार्यमा सघाउने नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ घर भई काठमाडौँको बाफल बस्ने ३३ वर्षीय पुष्पाकुमारी पौडेललाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ । घटना भएदेखि नै धादिङ र काठमाडौँमा प्रहरीले खोजी कार्य गरिएको थियो । घटनामा संलग्न अनिल थिङलाई फागुन १७ गते पक्राउ गरिएको थियो भने अन्य चारजनालाई गत माघ २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि उक्त स्थानमा ससुराली घरमा बस्दै आएका अनिल थिङ भन्ने जय बहादुर सिंगारले अन्य प्रतिवादीहरुलाई काठमाडौँमा बोलाई योजना बनाएको थियो । योजना बमोजिम मृतक सान्नानी सार्कीको घरमा पुगी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । ‘अनुसन्धानका क्रममा योजना बमोजिम हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको छ’, खड्काले भने, ‘हत्यापछि कान र घाँटीमा लगाएका सुनका गहना (तिलहरी एक थान, रिङ एक जोर र ढुङग्री एक थान) लुटेर फरार भएका थिए, प्रहरीले पक्रउ गरिसकेको छ ।’

हत्या गरि सुनका गरगहना लुटेर काठमाडौँ फरार भएका उनीहरुले भोलिपल्ट पुष्पाकुमारी पौडेल मार्फत कालीमाटीका सुन व्यवसायी धनबहादुर कालीराजलाई ५० हजार तीन सय ८९ मा बिक्रि गरी आएको रकम एकआपसमा बाँडफाँड गरेको अनुसन्धाानका क्रममा खुलेको प्रहरीले बताए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

२०७७ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: