२७ माघ , काठमाडौ –
सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्याउने निर्णय भएको छ, उनले भनिन् ।
पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गर्ने निर्णय भएको हो ।
मन्त्री तुम्बाहाङ्फेले उक्त निर्णयलाई सरकार निर्वाचन गराउन दत्तचित्त भएर अगाडि बढेको अर्थमा लिनुपर्ने बताइन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
सोही दिन आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।
२०७७ माघ २७ गते प्रकाशित