
२७ पुस ,काठमाडौ –
नेपालकी पुष्पा भण्डारीले म्याराथनमा ऐतिहासिक स्वर्ण जितेकी छिन्। नेपाल एपिएफ क्लबमा आबद्ध पुष्पाले आइतबार बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी हुन्।
नेपालका लागि महिला खेलाडीले म्याराथनमा अन्तर्राष्ट्रिय स्वर्ण जितेको यो पहिलो पटक हो। पुष्पाले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गर्दै दक्षिण एसिया क्याटागोरीमा स्वर्ण जितेकी हुन्।
दोस्रो स्थान भारतकी खेलाडीले हात पारेकी छिन्। एक महिनाको छोटो तयारीमै स्वर्ण जित्न पाउँदा खुसी लागेको पुष्पाले ढाकाबाट सेतोपाटीलाई बताइन्। पुष्पाका अनुसार उनले स्वर्ण जितेबापत ६ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्।
उनी गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद साग की रजत विजेता हुन्। प्रतियोगितामा पुरुषतर्फ भाग लिएका नेपालका किरणसिंह बोगटी भने चौथो भएका छन्।
किरणले १३औं सागमा स्वर्ण जितेका थिए।
२०७७ पुस २७ गते प्रकाशित