Tue. Mar 11th, 2025

वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी

१७ पुस , काठमाडौ –

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन्। बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो।

काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो। अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए।

बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए। यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए। बलिङतर्फ काठमाडौँका इशान पाण्डेले सात दशमलव चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए। यस्तै सुमन उदयले तीन विकेट लिए।

यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ।टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा चार विकेट गुमाउँदै ३७५ रन बनायो।

तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव चार ओभरमा ८४ रन मात्र बनाउन सक्यो। ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाए। यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए।

२०७७ पुस १७ गते पकाशित

About The Author

अन्य समाचारहरु: