
७ पुस , काठमाडौ –
आम–आमाबुवाले जस्तै कमला शाही र कुवीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन रु चिन्ता स्वाभाविक थियो। तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यति बेला तिनै आमाबुवाले भनेछन्, ‘हाम्री छोरीले त हाम्रो इज्जत पो बढाइन्। यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीको।
विसं २०७६ मा नेपाली खेलकुदको वृत्तान्त भन्नु नै स्वदेशमै भएको १३औं दक्षिण एसियाली खेलकुद र त्यसका अनेक सफलताका कथा हुन्। त्यसमध्ये सम्भवतस् सबैभन्दा मन छुने कथा हो, त्यही महिला राष्ट्रिय भलिबल टोलीले चुमेको रजत पदक। एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र भन्ने पनि होलान् तर त्यसो होइन। यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि छ।
भलिबल नेपालको राष्ट्रिय खेल हो। त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ, नेपालमा। त्यही कारण २०७६ बेग्लै शानको रह्यो, भलिबलका लागि। यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना कति बाक्लो छ भनेर। नेपालले त्यो वर्ष एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो। यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो।
त्यसपछि दक्षिण एसियाली खेलकुदमा रजत पदक पनि हात पा¥यो। यो यात्रामा टोलीका सबैभन्दा महत्वपूर्ण पात्र हुन्, उनै करुणा। उनी कप्तान त हुन नै, गहकिला ‘सेटर’ पनि हुन्। नेपाली महिला भलिबलमा आमखेलप्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि पनि अरुणाकै नाम आउने गर्छ। आखिर यी २७ वर्षीया चेलीले आफ्नो उमेरको आधाभन्दा बढी १४ वर्ष भलिबलका लागि समर्पित गरिसकेकी छन्।
यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँपालिकाका आमाबुवाले आफ्नी छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त रु उनी त अब पूरा गाउँकै सान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष २०७६ को पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधाको मनोनयनमा अरुणा पनि परेकी छन्। अब यिनलाई समग्र भलिबलमा पु¥याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आमखेलप्रेमीको हो। १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिद्वन्द्वी थियो, भारत। स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो।
२०७७ पुस ७ गते प्रकाशित