
८ मंसिर, काठमाडौ –
कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकुद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो। सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकुदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकुद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो। सेनाले खेलकुदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ। कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन।
नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन गर्न र खेलकुदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ।
सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ।
कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ।
२०७७ मंसिर ८ गते प्रकाशित